धनगढी । बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँस्थित मोडमा बिहीबार अपराह्न भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनाको पार्थिव शरीर आज अन्त्येष्टिका लागि एकै आँगनबाट उठाइएको छ। दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये बझाङको बित्थडचिर गाउँपालिका–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको आज एकै ठाउँमा अन्त्येष्टि गरिँदै छ।
नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। नरेन्द्रराज बित्थडचिर–७ का वडा सचिव थिए भने विष्णुदत्त स्थानीय महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षक थिए। दुर्घटनामा ज्यान गुमाएका वसन्तराज जोशी उनीहरूकै भतिजा हुन्। वसन्तराज, नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। यस्तै, ४० वर्षीय केशवराज जोशी र अशोकराज जोशी बाबु–छोरा हुन्। केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उनीहरूको डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
एकै परिवार र नातागोताका सात जनाको एकै चिहानमा अन्त्येष्टि गरिँदै गरिएको यस हृदयविदारक घटनाले सिंगो बझाङ जिल्लालाई शोकमा डुबाएको छ। गाउँभरि शोकको माहोल छ भने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीयको ठूलो भीड लागेको छ।


