धनगढी — बैतडीमा भएको बस दुर्घटनामा घाइते भएका पाँच जना यात्रुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी डडेल्धुरा पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि पाँच जनालाई धनगढी रिफर गरिएको हो।
निसर्ग अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुर्घटनामा घाइते हुनेमा बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–७ का ६० वर्षीय नन्दलाल कोइराला, बैतडीको पर्चौडी नगरपालिका–७ का २० वर्षीय कमलप्रसाद जोशी, बझाङ बित्थडचिर–७ का वीरबहादुर धामी, १३ वर्षीय प्रतिक जोशी तथा १६ वर्षीया प्रतिभा जोशी रहेका छन्। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको शल्यक्रिया तथा विशेष निगरानीमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेका ६० वर्षीय नन्दलाल कोइरालाको अवस्था चिन्ताजनक रहेको र उनलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। अन्य घाइतेहरू सर्जिकल वार्डमा उपचाररत छन्।
अस्पतालले घाइतेहरूको उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा उपलब्ध गराइएको र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली चौबीसै घण्टा खटिएको जानकारी दिएको छ।


