धनगढी– महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न लक्षित विद्यालय केन्द्रित एचपिभी खोप सेवा कैलाली जिल्लामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ । नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त अभियानलाई प्रभावकारी बनाउन जिल्ला पूर्ण खोप समन्वय समिति, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा बैठक आइतबार गरिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय खोप समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टीकाकुमारी भुल चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बम, औषधि व्यवस्था तथा आपूर्ति केन्द्रका प्रमुख झनक ढुङ्गाना, स्वास्थ्य कार्यालयका अधिकारी, पत्रकार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जानकारी दिँदै स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष निर्वाचनका कारण खोप अभियानको समयतालिका परिवर्तन गरिएको जनाएको छ । यसअघि फागुन २१ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यस वर्ष माघमै अभियान सुरु गरिएको हो ।
एचपिभी खोप मुख्यतया कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई लगाइने छ । स्वास्थ्य कार्यालयले कर्मचारी सूर्य विष्टका अनुसार यस वर्ष दश हजार तीन सय ८५ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । जसमा विद्यालय बाहिर रहेका एक सय ७६ जना बालबालिकालाई समेत खोजी गरी खोपमा समावेश गरिनेछ । यस्तै, गत वर्ष कुनै कारणले खोप छुट भएका ११–१४ वर्ष उमेर समूहका ९९ जना किशोरीहरूलाई पनि यस पटक समेटिने योजना बनाइएको छ ।
जिल्लाभर खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न ३८५ सामुदायिक र २८१ संस्थागत विद्यालय छनोट गरिएका छन् । यी विद्यालयमार्फत ४२९ वटा खोप केन्द्र स्थापना गरिनेछ । अभियानलाई सफल बनाउन ३८८ जना स्वास्थ्यकर्मी र ३८८ जना स्वयंसेवक खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ४७ हजार ६ सय ५५ जनाले विभिन्न खोप सेवा लिएका थिए । यस वर्ष उक्त संख्यालाई अझ बढाएर शतप्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य रहेको छ ।
गत वर्ष खोप अभियानका क्रममा दुई जनामा स्वास्थ्य समस्या देखिएको विषयमा उठेका जिज्ञासाप्रति स्पष्ट पार्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले ती समस्या खोपका कारण नभएको बताएका छन् । ‘खोप लगाउँदा होइन, एन्जाइटी र मानसिक त्रास का कारण समस्या देखिएको हो,’ उनले भने, ‘खोप पूर्ण रूपमा सुरक्षित छ ।’
उनका अनुसार खोपसम्बन्धी गलत सूचनाले बालबालिका र अभिभावकमा अनावश्यक डर सिर्जना गर्ने गरेको छ, जसले खोप अभियानलाई चुनौतीपूर्ण बनाइरहेको छ । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले जनप्रतिनिधि र समाजका प्रभावशाली व्यक्तिहरूले जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा जोड दिए । ‘तथ्यहीन कुरा, अफवाह र भ्रम फैलिँदा खोप अभियानमा गम्भीर असर पर्छ,’ उनले भने, ‘धनगढीजस्तो शिक्षित क्षेत्रमा समेत किशोरीहरूलाई खोपमा समेट्न समस्या देखियो ।’ उनले गलत सूचना फैलिएमा किशोरीहरू त्रसित हुने, अभिभावकहरू अन्योलमा पर्ने र दीर्घकालीन रूपमा अन्य खोप कार्यक्रमसमेत प्रभावित हुने चेतावनी दिए । ‘एचपिभी खोप मात्र होइन, नियमित सबै खोप कार्यक्रममा यसको असर पर्छ,’ उनले भने ।
कार्यक्रमकी अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख टीकाकुमारी भुल चौधरीले महिलामा पाठेघरको क्यान्सरको जोखिम अत्यधिक रहेको उल्लेख गर्दै कुनै पनि किशोरी खोपबाट नछुट्न नहुने स्पष्ट पारिन् । ‘डर र त्रासको मनोविज्ञान हटाउन जरुरी छ,’ उनले भनिन्, ‘हामीले समाजमा कस्तो मानसिकता निर्माण गरिरहेका छौं, त्यो बुझ्न आवश्यक छ ।’ उनले विद्यालय केन्द्रित खोप अभियान प्रभावकारी हुने बताउँदै विद्यालय छोड्ने किशोरीहरू पनि खोपबाट वञ्चित हुन नदिन स्थानीय तह, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूबीच समन्वय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले एचपिभी खोपलाई सफल बनाउन पत्रकार, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिए । सही सूचना प्रवाह, समयमै खोप केन्द्रमा उपस्थित गराउने वातावरण र भ्रमविरुद्ध सचेतना फैलाउन सके मात्र पूर्ण खोपको लक्ष्य हासिल गर्न सकिने निष्कर्ष निकालिएको थियो ।
स्वास्थ्य कार्यालय कैलालीले खोप अभियानका क्रममा कुनै समस्या, जिज्ञासा वा शंका भएमा स्वास्थ्यकर्मीमार्फत सही जानकारी लिन सबैलाई आग्रह गरेको छ । सुरक्षित, प्रभावकारी र जीवनरक्षक खोपबाट कुनै पनि किशोरी वञ्चित नहोस् भन्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।


