धनगढी: दुग्ध विकास संस्थान (डीडीसी) ले कैलालीको अत्तरियास्थित दुग्ध विकास आयोजना स्थानान्तरण गरी धनगढीबाट उत्पादन सुरु गरेको छ। अत्तरियामा लामो समयसम्म तालाबन्दी, आन्दोलन तथा आयोजनाका लागि उपयुक्त जग्गा उपलब्ध हुन नसकेपछि डीडीसीले कार्यालय र कारखाना धनगढी सारेको हो।
आयोजनालाई धनगढी–१५ कनरीमा सार्ने विषयमा करिब सात महिनासम्म अन्योल रहँदै आएको थियो। अन्ततः डीडीसीले पुस ३० गतेदेखि धनगढीबाट उत्पादन, दुग्ध संकलन, वितरण तथा प्रशासनिक कार्य सुरु गरेको जनाएको छ। पुस १४ गते कार्यालय सारिसकेपछि कारखाना स्थानान्तरणका क्रममा अवरोध भए पनि सबै मेसिन तथा कार्यालय धनगढी ल्याएर उत्पादन थालिएको हो।
धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदाममा कार्यालय र उद्योग सारेर पुस ३० गतेदेखि उत्पादन तथा संकलन कार्य सुरु गरिएको डीडीसीले जनाएको छ। आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार हाल कारखाना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
‘धनगढीबाटै दुग्ध संकलन र उत्पादन भइरहेको छ,’ उनले भने, ‘कारखाना व्यवस्थापन सुधार गर्दै उत्पादन अझ बढाउने योजना छ।’


