डोटी । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा डोटीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुको मुख्य एजेण्डा थियो सुदूरपश्चिम प्रदेशको राजधानी डोटीको दिपायल बनाउने, तर भएन ।
निर्वाचन सम्पन्न भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते संविधानको धारा २८८(३) अनुसार प्रदेशको कामकाज सञ्चालन गर्नका लागि अस्थायी मुकाम कैलालीको धनगढी तोक्यो ।
२०७५ साल असोज १२ गते संबिधानको धारा २८८(२) अनुसार प्रदेश सभाको दुई–तिहाइ बहुमतले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गर्यो ।
०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठवन्धनबाट एमालेका तत्कालीन नेता प्रेमबहादुर आले र नेपाली कांग्रेसका नेता एवं तत्कालीन बहालवाला संघीय मन्त्री वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी थिए । चुनावमा आलेले बलायरलाई एक हजार ६३२ मततान्तरले पराजित गरे ।
तिनै आले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी, समाजवादी सहितको बाम–लोकतान्त्रिक गठवन्धनका उम्मेदवार भए । चुनावताका उनलाई धेरैले राजधानीवारे प्रश्न गरे । उनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भनेर जवाफ फर्काए ।
त्यो निर्वाचनमा उनको एजेण्डा प्रदेश राजधानीको सट्टा धनगढी–दिपायल–चैनपुर–उरैभञ्ज्याङ द्रुतमार्गमा केन्द्रित भयो । त्यतिबेला समाजवादीमा रहेका आलेले गठबन्धनको भरपुर फाइदा लिएर निर्वाचित भए ।
आलेले उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतले पछाडि पारेका थिए । आलेले २७ हजार दुई सय १० मत पाउँदा, ओलीले २३ हजार चार मत मात्रै पाइन् ।
प्रतिनिधिसभा सदस्यमा विजयी भए पनि आलेले चुनावमा गरेका बाचा पूरा गरेनन् । उनले प्राथमिकतामा राखेको द्रूतमार्गको अहिलेसम्म पनि राम्रोसंग ट्रयाक खुलेको छैन । यसपटक भने उनी आफैँ प्रदेश राजधानी भएतिर सरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई कैलाली–५ (हाल प्रदेशको अस्थायी मुकाम रहेको क्षेत्र) बाट उम्मेदवार बनाएको छ ।
२०७४ सालमा राजधानी दिपायललाई मुख्य एजेण्डा बनाएका बलायर यसअघिनै डोटीबाट सरिसकेका छन् । ०७४ सालको निर्वाचनमा उनी बामगठबन्धनको चपेटामा परेर चुनाव हारे ।
बलायर मन्त्री भएकै मन्त्रिपरिषद्ले प्रदेशको अस्थायी मुकाम कैलाली तोकेको थियो । राजधानी तोक्ने आफूले दबाब दिन नसकेको उनैले स्वीकारिसकेका छन् ।
०७९ मा बाम–लोकतान्त्रिक गठबन्धनले उनलाई जिल्लाबाटै लखेट्यो । उनले प्रदेशको स्थायी राजधानी तोकिएकै (कार्यान्वयन नभएको) क्षेत्र कैलाली–४ बाट चुनावी प्रतिस्पर्धा गर्नुपर्यो ।
उनले चुनावी अभियानका क्रममा प्रदेशको राजधानी ६ महिनाभित्र गोदावरीमा कामय हुने बाचा गरे । उनले चुनाव जिते पनि । एमालेका नेता लेखराज भट्टलाई तीन हजार ६१२ मतले पराजित गर्दै बलायर प्रतिनिधिसभामा प्रवेश गरे तर कैलालीमा रहेको राजधानी गोदावरी सरेन ।
यसपटक कांग्रेसले बलायरलाई पुनः सोही क्षेत्रबाट उम्मेदवार बनाएको थियो, तर उनले चुनाव लड्न मानेनन् ।


