धनगढी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बोहराले अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै बोहराले अछाममा एमाले पूर्ण रूपमा एकताबद्ध भएकाले जित सुनिश्चित रहेको बताएका हुन् ।
उनले अछामका दुवै निर्वाचन क्षेत्रमा एमालेको संगठन बलियो रहेको उल्लेख गर्दै विगतमा देखिएका केही आन्तरिक समस्या अहिले समाधान भइसकेको दाबी गरे । “अछामका दुवै क्षेत्रमा एमाले मजबुत छ । पहिले केही समस्या थिए, तर ती समस्या सिर्जना गर्ने साथीहरू अहिले पार्टीमा छैनन् । हामी पूर्ण रूपमा एकताबद्ध छौँ,” उनले भने, “दुवै क्षेत्रका उम्मेदवार यज्ञ बोगटी र दीपक साउँद चुनाव जित्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।”
अछाममा भिम रावलको प्रभावबारे सञ्चारकर्मीले राखेको प्रश्नमा बोहराले रावल नेतृत्वको पार्टीसँग अत्यन्तै सीमित मत मात्रै रहेको दाबी गरे । “उहाँहरूको पार्टीसँग ५–६ हजार मत मात्रै छन् । अरू ठाउँबाट तान्दा बढीमा २ हजार मत थपिन सक्छ,” उनले भने, “उहाँ हामीसँग प्रतिस्पर्धामा आउनुहुन्न । उहाँको मत बढीमा ८ हजार हाराहारीमै सीमित हुन्छ । अछाममा हाम्रो वास्तविक प्रतिस्पर्धी नेपाली कांग्रेस हो।”
आफू उम्मेदवार नबनी दीपक साउँदलाई अघि सारेको विषयमा बोहराले आफू पटक–पटक उम्मेदवार भइसकेकाले नयाँ अनुहारलाई अवसर दिएको स्पष्ट पारे । “म पटक–पटक उम्मेदवार भइसकेको व्यक्ति हुँ । अहिलेको आवश्यकता भनेको एमाले कसरी जिताउने भन्ने रणनीति हो,” उनले भने, “त्यही रणनीतिअनुसार उम्मेदवार चयन गरिएको हो र दीपक साउँद चुनाव जित्नुहुन्छ।”
उनले नयाँ पार्टीहरूले अछाममा खासै प्रभाव पार्न नसक्ने दाबी पनि गरे । सामाजिक सञ्जालमा मात्रै नयाँ पार्टी देखिएको उल्लेख गर्दै बोहराले जनतामा अझै पनि एमालेप्रति बलियो लगाव रहेको बताए । “सामाजिक सञ्जालमा जे देखिए पनि भुइँतहमा एमालेप्रतिको जनसमर्थन बलियो छ,” उनले भने, “जनताको विश्वास एमालेमै छ, त्यसैले अछाममा दुवै सिट एमालेले जित्छ।”

