धनगढी । नेकपा एमालेले कैलाली-५ मा पूर्व जिल्ला इन्चार्ज नारदमुनी रानालाई चुनावी कमान्डर बनाएको छ ।राना पूर्व पोलिटब्युरो सदस्य समेत हुन् । शुक्रवार बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय समन्वय कमिटीको बैठकले रानाको संयोजकत्वमा चुनावी तयारीका लागि १००१ सदस्यीय मूल परिचालन समिति गठन गरेको हो ।
समितिको उपसंयोजक पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई बनाइएको छ । यस्तै, रानाकै संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिको सचिवालय पनि गठन गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले कैलाली९५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाएको छ ।
सचिवालयमा कैलाली९५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरूलाई सदस्य बनाइएको छ । ढुङ्गानाको चुनावी कमान्डर बनेका राना २०७४ सालमा कैलाली-५ मा कांग्रेस नेतृ आरजु राणालाई पराजित गरेका थिए भने २०७९ मा कांग्रेसका डिल्लीराज पन्तसँग झिनो मतले पराजित भएका थिए । राना यस पटक पनि उम्मेदवारका आकाङ्क्षी थिए जिल्ला अध्यक्ष ढुङ्गानाले टिकट पाए। आफूले टिकट नपाए पनि चुनावी कमान्डर बनेर पार्टीको उम्मेदवार जिताउने रानाले प्रतिबद्धता जनाएका छन् ।


