धनगढी: धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर टोलमा अवस्थित क्यास्पियन मन्टेश्वरी स्कुलमा सरस्वती पूजा विधिपूर्वक सम्पन्न भएको छ। ज्ञान, विद्या र शिक्षाकी देवी सरस्वतीको पूजाआराधनासँगै आयोजित कार्यक्रममा १८ जना बालबालिकाले अक्षराम्भ गरेका छन्। सरस्वती पूजाको अवसरमा स्कुल परिसरमा धार्मिक तथा सांस्कृतिक माहोल सिर्जना गरिएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिमा बालबालिकालाई पहिलोपटक अक्षर चिनाउने कार्यक्रम सम्पन्न गरिएको हो।
बिगत १० वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको क्यास्पियन मन्टेश्वरीलाई नयाँ शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनसहित सञ्चालन गरिएको मन्टेश्वरीका प्रिन्सिपल नारद कुमार सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार मन्टेश्वरीलाई समयअनुसार थप व्यवस्थित र बालमैत्री बनाइएको छ। अत्याधुनिक सुविधा सम्पन्न क्यास्पियन मन्टेश्वरीमा एसी कक्षा, प्रत्येक कक्षामा सीसी क्यामेरा जडान, सुरक्षित तथा स्वच्छ वातावरणको व्यवस्था गरिएको छ। खेल र प्रयोगात्मक विधिमार्फत पठनपाठन हुने भएकाले विद्यार्थीहरूको आकर्षण बढ्दै गएको प्रिन्सिपल सिंहले बताउनुभयो।
हाल मन्टेश्वरी कक्षा ३ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा पूर्ण मन्टेश्वरी वातावरणमा शिक्षण–सिकाइ भइरहेको छ। साथै विदाका दिनहरूमा पनि संगीत कक्षा, नृत्य कक्षा, सांस्कृतिक कार्यक्रम तथा विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराइने गरिएको छ। सस्तो शुल्कमा गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको क्यास्पियन मन्टेश्वरीमा आफ्ना बालबालिकालाई भर्ना गराई उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै अभिभावकहरूलाई विद्यालय प्रशासनले आग्रह गरेको छ।

