धनगढी: नेकपा एमालेका नेता तथा उद्योगपति सूर्य बहादुर थापाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार लम्किस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले क्षेत्रको मुख्य समस्या रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएका छन्। “कैलाली–२ मा युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने ठोस योजना लिएर म चुनावी मैदानमा उत्रिएको हुँ,” उनले भने।
उद्योग क्षेत्रमा लामो अनुभव रहेको बताउँदै थापाले उद्योग, कृषि र पर्यटनलाई जोडेर स्थानीय अर्थतन्त्र मजबुत बनाउने योजना अघि सारे। उनले साना तथा मझौला उद्योग प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाए।
थापाले पार्टीको संगठनात्मक शक्ति र जनसमर्थनका आधारमा आफू विजयी हुने विश्वास व्यक्त गरे। “एमालेले अघि सारेको विकास र समृद्धिको एजेन्डालाई जनतासामु प्रभावकारी रूपमा प्रस्तुत गर्नेछु,” उनले थपे। कैलाली–२ मा यस पटक विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको प्रतिस्पर्धा देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले चुनावी गतिविधि तीव्र बनाइरहेका छन्।


