धनगढी: कैलाली क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका नेता मोहन सिंह राठौरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीबाट टिकट नपाएपछि उनले बागी उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राठौरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका राठौरले टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवारी दर्तापछि राठौरले यो निर्वाचनलाई निर्णायक लडाइँको रूपमा लिएको बताए। उनले भने, “यो वारपारको लडाइँ हो। अब कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता गर्ने छैन।” जनताको भावना र क्षेत्रको विकासका मुद्दालाई केन्द्रमा राखेर आफू मैदानमा उत्रिएको उनको भनाइ छ।
राठौर लामो समय एमालेमा रहेर राजनीति गरेका ब्यक्ति हुन् । पछिल्लो समय काँग्रेसको संगठन निर्माणमा सक्रिय नेता हुन्। उनले पार्टीका विभिन्न तहमा रहेर काम गरेको अनुभव रहेको उल्लेख गर्दै स्थानीय स्तरको सिफारिसलाई बेवास्ता गरी टिकट वितरण गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे। यसले कार्यकर्ता र समर्थकहरूमा निराशा छाएको उनको दाबी छ।
उनको स्वतन्त्र उम्मेदवारीपछि कैलाली क्षेत्र नम्बर २ को चुनावी समीकरण थप रोचक बनेको छ। काँग्रेसको प्रभाव रहेको मानिने यस क्षेत्रमा बागी उम्मेदवारीले पार्टीको मत विभाजन हुने सम्भावना देखिएको छ। आगामी दिनमा राठौरको उम्मेदवारीले चुनावी परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।


