धनगढी । दार्चुलामा आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ११ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । आगागी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ नेकपा एमालेबाट गणेश ठगुन्ना, नेपाली कांग्रेसबाट धर्मानन्द जोशी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश सिंह समान्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले पनि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । यस्तै अन्य दलहरू संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च पार्टीबाट गगन ठगुन्नाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट नवराज भट्ट, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट विद्यादेव जोशीले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो ।


