बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत बैतडीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए ।
मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्ट, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारती, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभाका लागि बैतडीमा एक मात्रै क्षेत्र रहेकाले मनोनयन दर्ता लगायतका कामहरु मुख्य निर्वाचन अधिकृतकै कार्यालयमै हुने निर्वाचन कार्यालय बैतडीका प्रमुख भारतीले बताए ।
बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य रहेका छन् । हालको मतदाता संख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । यसअघिको निर्वाचनमा एक लाख ५० हजार १५६ मतदाता थिए ।


