धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ अन्तर्गत हिम्मतपुर शिविरमा थारु समुदायको प्रमुख पर्व माघी को अवसरमा माघी मिलन सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग तथा गतिशील युवा क्लब को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। थारु समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको माघी पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न समुदायका मौलिक नृत्य, गीत, सांस्कृतिक झाँकी तथा परम्परागत प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन पूर्व मन्त्री नारदमुनी राना ले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायले माघीमा नयाँ नेतृत्व चयन गर्ने परम्परालाई स्मरण गरे। उनले माघीले आत्ममूल्यांकन र सही निर्णयको सन्देश दिने उल्लेख गर्दै अब देशले पनि सही, इमानदार र देशभक्त नेतृत्व छान्ने समय आएको बताए। “गाउँमा राम्रो भलमन्सा छानेजस्तै आगामी निर्वाचनमार्फत देशलाई नेतृत्व गर्ने योग्य व्यक्ति र पार्टी छान्नुपर्छ,” उनले भने। साथै उनले पछिल्लो समय नेपालमा विदेशी चलखेल बढेको उल्लेख गर्दै देशभक्त शक्ति र नेतृत्वलाई अघि ल्याउन सबै सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी राना ले वडा नम्बर १२ विविध जातजाति, भाषा र संस्कृतिले भरिपूर्ण वडा भएको बताइन्। विविधतायुक्त समाजमा जनप्रतिनिधिले जिम्मेवार र समन्वयात्मक रूपमा काम गरिरहेको उल्लेख गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि वडा नम्बर १२ का जनप्रतिनिधीले सकारात्मक र उल्लेखनीय कार्य गर्दै आएको बताइन्। “अघिल्लो अवस्थासँग तुलना गर्दा वडा नम्बर १२ मा उल्लेखनीय सुधार देखिएको छ,” उनले भनिन्। उपमेयर रानाले उपमहानगरपालिका र वडा कार्यालयबीच सहकार्य गर्दै समग्र समुदायको भौतिक, सामाजिक र मानवीय विकासमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिइन्।
त्यस्तै वडा नम्बर १२ का अध्यक्ष सेर बहादुर महरा ले वडा कार्यालय सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको बताए। नागरिकका आवश्यकता धेरै भए पनि बजेट सीमित हुने यथार्थ प्रस्तुत गर्दै उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै वडाको समग्र विकासमा आफूहरू केन्द्रित रहेको स्पष्ट पारे। “हामी सकारात्मक आलोचना र सबैको सहयोगको अपेक्षा गर्छौं,” उनले भने।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। माघी मिलन कार्यक्रमले सांस्कृतिक पहिचान जगेर्ना गर्नुका साथै समुदायबीच आपसी एकता र सद्भाव सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।


