धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन प्रवर्धनका लागि आवश्यक ऐननियम तथा कार्यविधि बनाउन आवश्यक रहेको बताएका छन् । बडीमालिका र रामारोशन वनक्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा धनगढीमा भएको छलफलमा उनले पर्यटन प्रवर्धन तथा संवर्धन र वनक्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको बताए ।
उनले धार्मिक पर्यटकीय सम्भावना बोकेको बडीमालिका र रामारोशन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गरे । बडीमालिका र रामारोशन वन संरक्षण क्षेत्रको संरक्षण र विकासका कार्यलाई सँगसँगै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले बताए । “बडीमालिका र रामारोशन क्षेत्रमा विद्यमान विभिन्न समस्या र संरक्षणका सम्भावनाबारे विचारविमर्श गर्नु पर्छ,” उहनले भने स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा पर्यटन विकास गर्न सकिने मुख्यमन्त्री शाहले उल्लेख गरे ।
छलफल कार्यक्रममा प्रदेश सभा सदस्य नरेशकुमार शाही, झपट साउद, पदमबहादुर शाही, अक्कल रावल, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्कालगायतले आआफ्नो धारणा राखेका थिए । यसैबिच बडीमालिका–रामारोशन वनक्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सातसदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा वरिष्ठ भू तथा जलाधार अधिकृत डा। किशोर अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मीराज जोशी, पर्यटन व्यवसायी पदमबहादुर सिंह, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापा र रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद सदस्य रहनुभएको छ ।

