कञ्चनपुरः कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीले केही वर्षयता वार्षिक लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन। हरेक वर्ष वार्षिक लक्ष्य बढाउँदै लगेको भन्सार कार्यालयले हरेक वर्षमा राजस्व सङ्कलन दर बढाउँदै लगेको भए पनि वार्षिक लक्ष्यको शतप्रतिशत सङ्कलन भने हुन नसकिरहेको जनाएको छ। पश्चिमी नाका गड्डाचौकीबाट भारत हुँदै यहाँ दैनिक उपभोग्य सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा लगायतका सामान आयात हुने गरेको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कार्यालयले २५ करोड २९ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा भने लक्ष्य नजिक पुगेर राजस्व सङ्कलन भएको देखिन्छ। सो वर्ष रु ५९ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने भनिएकामा रु ५४ करोड ३८ लाख ९० हजार सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। यो वार्षिक ९१.१२ प्रतिशत सङ्कलन हो।
त्यस्तै आर्थिक २०७९/८० मा रु ४२ करोड नौ लाख ९५ हजार राजस्व सङ्कलन भएको थियो। उक्त वर्ष रु ५८ करोड ९६ लाख ४४ हजार लक्ष्य लिइएको थियो। आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड ७७ लाख ६० हजार लक्ष्य रहेको थियो। जसमा रु ४६ करोड २२ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो।


