धनगढी: कैलाली जिल्लामा आन्तरिक राजश्व संकलन पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर लक्ष्यभन्दा कम हुँदै आएको छ । आन्तरिक राजश्व कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकअनुसार हरेक वर्ष तोकिएको राजश्व लक्ष्य हासिल हुन नसक्दा जिल्लाको समग्र राजश्व अवस्था ओरालो यात्रामा देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजश्व कार्यालय कैलालीलाई ३ अर्ब ८ करोड ४१ लाख ४० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको थियो । तर उक्त अवधिमा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार रुपैयाँ मात्रै संकलन हुन सकेको छ । यो कुल लक्ष्यको ८६ दशमलव ८५ प्रतिशत मात्र हो ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकिएको थियो । सो वर्ष २ अर्ब ८७ करोड ८० लाख ८१ हजार रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ८१ दशमलव ४० प्रतिशतमा सीमित रह्यो । चालु आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन सन्तोषजनक देखिएको छैन । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ अर्ब १० करोड ३१ लाख ७० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ७८ करोड ९६ लाख २४ हजार रुपैयाँ मात्रै संकलन भएको छ । यो कुल लक्ष्यको ७१ दशमलव ५८ प्रतिशत हो ।
आयकर र मूल्य अभिवृद्धि कर प्रमुख स्रोत
आन्तरिक राजश्व कार्यालय कैलालीले सबैभन्दा बढी राजश्व आयकरबाट संकलन गर्दै आएको छ भने त्यसपछि मूल्य अभिवृद्धि कर (भ्याट) प्रमुख स्रोतको रूपमा रहेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ५८ करोड ६८ लाख ४९ हजार रुपैयाँ आयकर संकलनको लक्ष्य तोकिएकोमा ३९ करोड ७० लाख ५३ हजार रुपैयाँ मात्रै संकलन भएको छ । त्यस्तै, ४० करोड ८९ लाख २५ हजार रुपैयाँ मूल्य अभिवृद्धि करको लक्ष्य रहेकोमा २९ करोड ७३ लाख ९९ हजार रुपैयाँ मात्रै संकलन भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । यसैगरी ७ करोड ४५ लाख ३ हजार रुपैयाँ अन्तःशुल्क करको लक्ष्यमध्ये ७ करोड ३४ लाख १४ हजार रुपैयाँ संकलन भएको छ ।
हरेक वर्ष राजश्व लक्ष्य प्राप्त हुन नसक्नुका कारणबारे सूचना अधिकारी माझीले बीच–बीचमा केन्द्रबाट राजश्व लक्ष्य थपिने हुँदा तथ्यांकमा गिरावट देखिएको बताए । उनका अनुसार केही व्यवसायीहरूले विवरण पेश गरे पनि व्यवसाय नै बन्द गर्ने क्रम बढेकाले राजश्व संकलनमा असर परेको छ । त्यसका साथै कोभिड–१९ को दीर्घकालीन प्रभाव, पछिल्ला विभिन्न आन्दोलन, आर्थिक गतिविधिमा आएको मन्दी तथा बजार सुस्तताले पनि राजश्व संकलनमा थप चुनौती सिर्जना गरेको कार्यालयको भनाइ छ ।
करदातालाई राहत र सहुलियत
यसैबीच, कर तिर्न बाँकी रहेका तथा विवरण पेश गर्न बाँकी रहेका करदातालाई राहत दिने उद्देश्यले आन्तरिक राजश्व कार्यालय कैलालीले पुस मसान्तसम्म जरिवाना पूर्ण रूपमा छुट दिने व्यवस्था गरेको छ । साथै बाँकी करमा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको सूचना अधिकारी माझीले बताए । करदातालाई दिइएको छुट तथा सहुलियतले आगामी महिनाहरूमा राजश्व संकलनमा केही सुधार आउने अपेक्षा गरिएको कार्यालयको विश्वास छ ।


