धनगढी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताए । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताए ।
कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताए । ‘पहिले दिनमा लोडसेडिङ थियो, त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो । अब बिजुली पुर्याएर मात्रै हुँदैन’ उनले धनगढीको कार्यक्रममा भने ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्छ ।’
उनले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आम्दानीमा मात्र टेवा पुर्याउने होइन, विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्छ ।
उनले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको बताए । उनले भने , ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ । त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’ उहाँले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै सुदूरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको जानकारी दिए ।
उनले कर्णाली र सुदूरपश्चिमको निरीक्षण भ्रमणका क्रममा कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको निरीक्षण भ्रमण गरे ।

