धनगढी । थारू समुदायको मौलिक पहिचान बोकेको देउथान मरुवा थन्वा र भुइँयालाई पक्की बनाउने नाममा स्थानीय सरकार नै यो समुदायको पहिचान मास्न उद्दत रहेको पाइएको छ । कैलाली, कञ्चनपुरमा स्थानीय तहले थारू समुदायको देउथान, मरुवा र रानाथारू समुदायको भुइँया देवता घर लाई पक्की बनाउने नाममा मौलिक पहिचान मास्न थालेको देखिएको हो । दुवै जिल्लाका विभिन्न पालिकाका गाउँ गाउँमा पक्की देउथान र भुइँया बनाउने नाममा थारू समुदायको मौलिक पहिचानविपरीत मन्दिर बनाउने कार्य भइरहेको छ ।
देउथान र भुइँयाको डिजाइन वडाकै प्राविधिकले बनाउने गरेका छन् । स्थानीय भलमनसाका अनुसार थारू समुदायको देउथान र भुइँया घर जस्तो हुने गरेकाले त्यस्तो बनाउँदा बजेट स्वीकृत नहुने प्राविधिकले भन्ने गरेका छन् । बजेट स्वीकृत नभए फेरि समस्या हुने भयले उनीहरूकै डिजाइन स्वीकार गरेर देउथान र भुइँयाका नाममा मन्दिर बनाउन बाध्य भएको भलमनसाको भनाइ छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६, बैसक्खाका भलमनसा ठगीराम रानाले आफ्नो गाउँमा पक्की देउथान र भुइँया मन्दिर जस्तो बनेको बताए । “देउथान घर जस्तो हुन लाग्यो यो पासै हुँदैन भनेर प्राविधिकले भन्न थाले,” उनले भने , “उनीहरूले त्यस्तो भनेपछि मन्दिर बनाइयो ।”
कैलालीको धनगढी उपमहानगरपालिका–८ मा राधाकृष्ण मन्दिरको करिब डेढ सय मिटरको दुरीमा पनि अर्को मन्दिर बनाइएको छ । नयाँ बनेको त्यो मन्दिरको वास्तविकता अर्कै रहेको छ । वडा नम्बर ८ को कार्यालयको पाँच लाख रुपियाँ सहयोगमा त्यो मन्दिर धनगढीगाउँका रानाथारू र थारू समुदायको देउथान र भुइँयाका नाममा बनाइएको हो ।
धनगढीगाउँका रानाथारू र थारू समुदायको देउथान एउटैमा रहेको वडाध्यक्ष जुगराम चौधरीले बताए । उनका अनुसार थारू समुदायको आफ्नो देउथान नरहेका कारण रानाथारूकै भुइँयालाई देउथानका रूपमा पुज्दै आएका छन् । प्राविधिकले घर जस्तो देउथानका लागि बजेट पास नहुने जिकिर गरेपछि स्थानीयले मन्दिर स्वीकार गरेको वडाध्यक्ष चौधरीको भनाइ छ । उनले भने, “भुइँया माता मन्दिर भनेर बनाइएको छ । स्थानीयले पनि जे जस्तो बनाए पनि त्यसमा देवतै राखिने भन्दै सहमति जनाएका छन् ।” वडाध्यक्ष चौधरीले पक्की भुइँया बनाउने नाममा मन्दिर बनेको र मौलिकपन नरहेको स्वीकार गरे । धेरै जनताबिच लोकप्रिय बन्नका लागि जनप्रतिनिधिले मठमन्दिर, देउथानका लागि धमाधम बजेट छुट्याउने गरेका छन् । विभिन्न पालिकाका थुप्रै गाउँमा सरकारी बजेटमा देउथानका नाममा मन्दिर बनिसकेका छन् ।
बेलौरी नगरपालिका–६, रिछाहाका भलमनसा जुहारी चौधरीले आफ्नो गाउँमा पनि मन्दिरको ढाँचामा देउथान निर्माण भइरहेको जानकारी दिए ।

