धनगढी: कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मुद्दा दर्ता नम्बर ५३, मिति २०६५/०५/०९ मा दर्ता भएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो। उक्त मुद्दाको वारदात मिति २०६५/०५/०७ गते भएको थियो।
घटनापछि घट्नास्थलबाटै फरार रहेका डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ०८ घर भई हाल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ०५ मा बसोबास गर्दै आएका वर्ष ४५ का प्रेम भन्ने सुरज थापालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरठेगानाबाट फेलापारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। हाल उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

