बैतडी । बैतडीको पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन् । सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उनले बताए ।
“आर्थिक वर्ष २०७९/८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ”, उनले भने, “यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छौँ ।” आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्त रु ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताए ।

