धनगढी: कैलाली जिल्लामा संगठित अपराधको जालो तीव्र रूपमा फैलिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो साढे तीन महिनाको अवधिमा मात्रै संगठित अपराधसम्बन्धी ९८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लामा बैंकिङ कसुरसम्बन्धी अपराध पनि बढ्दो क्रममा देखिएको छ। प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा बैंकिङ कसुरका १ सय ५३ वटा मुद्दा दर्ता भएका छन् भने २४ जनालाई पक्राउ गरिएको छ। यसले आर्थिक अपराध कैलालीका लागि चुनौती बन्दै गएको देखाएको छ।
यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी लगायतका गम्भीर प्रकृतिका अपराध पनि नियन्त्रणमा आउन सकेका छैनन्। पछिल्लो साढे तीन महिनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ७६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५३ जना पक्राउ परेका छन्। आत्महत्याका घटनासमेत उच्च देखिएको छ। सो अवधिमा आत्महत्यासम्बन्धी ९६ वटा मुद्दा दर्ता भएका छन्। सामाजिक अपराधतर्फ हेर्दा ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन्। जबरजस्ती करणी, बालविवाह, बोक्सी आरोप लगायत महिला सम्बन्धी अपराधका २७ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले हत्या, हिंसा, जबरजस्ती करणी, चोरी, तस्करीलगायत सामाजिक अपराधका घटनामा उल्लेखनीय कमी आउन नसकेको स्वीकार गर्नुभयो। अपराध नियन्त्रणका लागि प्रहरीले विशेष रणनीति बनाएर काम गरिरहेको उहाँको भनाइ छ।
फरार अभियुक्त पक्राउ अभियान तीव्र
प्रहरीले पछिल्लो साढे तीन महिनामा ३ सय ७२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख चन्दले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार २० वर्षपछि पक्राउ परेका ३ जना, १५ वर्षपछि पक्राउ परेका १६ जना, १० वर्षपछि पक्राउ परेका ७३ जना तथा ५ वर्षपछि पक्राउ परेका १२५ जना अभियुक्त रहेका छन्। यस्तै, अदालतबाट फैसला भई फरार रहेका पाँच वर्षभन्दा कम अवधिका १ सय ५५ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
लागुऔषध र साइबर अपराध पनि चुनौती
यस अवधिमा लागुऔषध सम्बन्धी ८४ वटा मुद्दा दर्ता भई १ सय २६ जना पक्राउ परेका छन्। हत्या गरी खाल्टोमा गाडिएका शवको पहिचान गर्दै अभियुक्त पक्राउ गर्नेदेखि घाँटी रेटेर हत्या गर्ने अभियुक्त पक्राउ गर्नेसम्मका घटनालाई प्रहरीले महत्वपूर्ण सफलता मानेको छ। साइबर अपराधका घटनामा पनि सूक्ष्म अनुसन्धान गर्दै कारबाही भइरहेको प्रहरीले जनाएको छ। अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसँगै प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।


