धनगढी । धनगढी जेसिज २०२६ का लागि हुने निर्वाचन अन्तर्गत अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। यही मंसिर २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा हालका महासचिव आसिस शाह, धनगढी जेसिज २०२३ का महासचिव महेश्वर ओझा तथा २०२३ कै कार्यकारिणी उपाध्यक्ष मनिस कुँवरले उम्मेदवारी दर्ता गराएका हुन्। जेसिज २०२६ निर्वाचन समिति अन्तर्गतको सचिवालयमा तीनै जनाले औपचारिक रूपमा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन्। अध्यक्ष पदमा प्रतिस्पर्धा चर्को बनेसँगै धनगढी जेसिजमा चुनावी माहोल समेत तातेको छ।
अन्य पदाधिकारी सर्वसम्मत
अध्यक्षबाहेक निर्वाचनबाट चयन हुने अन्य पदाधिकारी भने सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कार्यकारिणी उपाध्यक्षमा भरत राज जोशी र सन्तोष पन्त सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्ष पदमा भुवन बिष्ट, सबिन रोकाया, विनोद बलायर र दिपेश बोहरा बिना प्रतिस्पर्धा सर्वसम्मत चयन भएका हुन्।
चुनावी प्रचार तीव्र
अध्यक्ष पदका तीनै उम्मेदवारले औपचारिक मनोनयन दर्ता गरेसँगै मतदाता सदस्यहरू माझ आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न सुरु गरिसकेका छन्। उनीहरूले संस्था सुदृढीकरण, युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेर आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी भेटघाट र छलफललाई तीव्र बनाएका छन्। धनगढी जेसिज क्षेत्रका युवाको नेतृत्व विकास, सामाजिक सेवा र उद्यमशीलता प्रवर्द्धनमा सक्रिय संस्था भएकाले अध्यक्ष पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। यही मंसिर २७ गते हुने निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ।


