डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा बुधबार एक चरी बाघ मृत अवस्थामा फेला परेको छ । गाउँपालिकाको पूर्वमा प्वाल भट्टे गाउँ, पश्चिममा धामी गाउँ, उत्तरमा भगवती मन्दिर र दक्षिणमा बन्डुवा खेतले घेरिएको क्षेत्रभित्र अन्दाजी दुई वर्षको चरी बाघ मृत भेटिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
चरी बाघ मृत भेटिएको सूचना पाएपछि वन कार्यालयको टोली घटनास्थल पुगेको थियो । टोलीले मृत भेटिएको चरी बाघलाई आवश्यक प्रक्रिया पूरा गरी कार्यालय परिसरमा ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ । मृत भेटिएको चरी बाघलाई खाडल खनी कार्यालय परिसरमै सुरक्षित रूपमा नष्ट गरिएको वन कार्यालयले जानकारी दिएको छ ।
चरी बाघ दुर्लभ वन्यजन्तुमा पर्ने भएकाले यसको मृत्युबारे थप कारण अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । वन क्षेत्र नजिकका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन तथा वन्यजन्तु देखिएमा वन कार्यालयलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।


