धनगढी — कैलाली जिल्लामा प्रहरीले एक साता लामो विशेष ‘स्वीप अपरेशन’ सञ्चालन गर्दै १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका इकाइहरूबाट खटिएका टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म अपरेशन चलाएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार, जिल्ला अदालतले विभिन्न मितिमा सुनाएका फैसला अनुसार कैद भुक्तान गर्न बाँकी, जरिवाना तिर्न बाँकी तथा अदालत प्रक्रियाबाट फरार रहेका व्यक्तिहरूलाई लक्षित गर्दै अपरेशन सञ्चालन गरिएको थियो।
“अदालती फैसला कार्यान्वयनबाट फरार रहेका प्रतिवादीहरूलाई खोजी–बुझी गरी पक्राउ गरिएको हो,” डिएसपी सिंहले बताए। उनका अनुसार, पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रकृया पूरा गर्न जिल्ला अदालत कैलालीमा बुझाइएको छ। प्रहरीका अनुसार, अपरेशनका क्रममा फरार रहेका करिब सबै प्रकृतिका मुद्दाका अभियुक्तहरू समातिएका छन्। प्रहरीले यसलाई अपराध नियन्त्रण तथा कानुनी राज्य सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
प्रहरीले आगामी दिनमा पनि अदालतका फरार प्रतिवादीलाई धरपकड गर्ने अभियान निरन्तर जारी रहने जनाएको छ।


