धनगढी – सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा. ओम प्रकाश कलौनी नियुक्त भएका छन्। तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट डा. राम कामेश्वर ठाकुरको काज फिर्ता भएपछि सामाजिक विकास मन्त्रालयले नयाँ नेतृत्वका रूपमा डा. कलौनीलाई जिम्मेवारी प्रदान गरेको हो।
नियुक्तिसँगै डा. कलौनीले बुधबारदेखि औपचारिक रूपमा चिकित्सालयको नेतृत्व सम्हालेका छन्। बुधबार नै आयोजित एक विशेष समारोहका बीच चिकित्सालय व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले उनलाई बधाई तथा स्वागत गरेका थिए। कार्यक्रममा वक्ताहरूले डा. कलौनीले यसअघि देखाएको पेशागत क्षमता, व्यवस्थापन कौशल र सेवाप्रति समर्पणका कारण संस्थाले आगामी दिनमा थप प्रभावकारी सेवा विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे।
नयाँ प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि डा. कलौनीले प्रादेशिक आयुर्वेद चिकित्सालयलाई सेवा, पहुँच र गुणस्तरका दृष्टिले अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्वास्थ्य प्रवर्द्धन, परम्परागत उपचारको आधुनिकीकरण र जनताका लागि सहज सेवा विस्तारलाई पहिलो प्राथमिकतामा राखिने बताए।
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचारलाई सुदृढ बनाउने र प्रभावकारी व्यवस्थापन अघि बढाउन नयाँ नेतृत्व नियुक्ति महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रादेशिक आयुर्वेद चिकित्सालयका कर्मचारी तथा सरोकारवालाले नयाँ टोलीसँग मिलेर संस्थाको सेवा प्रभावकारितामा नयाँ ऊर्जा थपिने आशा व्यक्त गरेका छन्।


