धनगढी: स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिएका छन् । कार्यपालिका बैठकबाट २०८१ फागुन ९ गते कर्मचारी प्रोत्साहन कार्यविधि पारित भएको ठिक दुई महिनापछि अर्थात् गत वैशाख ९ गते नगर कार्यपालिका बैठकबाट उनले सो निर्णय गराएका हुन्। पुरस्कारको राशि तीन लाख ७५ हजार ५५५ रुपियाँ रहेको छ ।
कार्यविधिको परिच्छेद ३ को ४ (क) अनुसार उत्कृष्ट पाँच काम गरेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले र नगरप्रमुखले मूल्याङ्कन गरी सिफारिस गर्ने व्यवस्था छ । “नगरपालिकाले विधि बनाएर दिने भनेकै हो तर जनप्रतिनिधिलाई अत्तोपत्तो नहुने गरी कार्यविधि बने छ,” भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भन्छन्, “बैठक सकिन लाग्दा हाकिमले आफैँलाई पुरस्कारका लागि छनोट गर्नुभयो, हामीले पनि केही भन्न सकेनौँ पुरस्कार बुझ्दा कर पनि बुझाउनु भएन, हामीले त्यति थाहा पनि पाएनौ थुप्रै नराम्रा काम भए तर जान्ने बुझ्ने हाकिम भएपछि त्यति त नगर्नु पर्ने हो नि ।” प्रमुख चौधरीका अनुसार पुरस्कार जसरी दिए पनि लिए पनि महालेखा परीक्षकले बेरुजु निकाल्ने र प्रमुख प्रशासकीय अधिकृतले पैसा फिर्ता गर्नुपर्ने हुन्छ । न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रूपमा आइसकेपछि नगरपालिकाको वेबसाइटमा कार्यपालिकाका निर्णय हाल्न पनि रोक लगाएका थिए ।
उनको कार्यकालभरिका निर्णय नगरपालिकाको वेबसाइटमा छैनन् । नगरप्रमुख चौधरीले पटक पटक निर्णय वेबसाइटमा हाल्नभन्दा पनि नहालेको न्यौपानेमाथि आरोप छ । कार्यालयको रेकर्ड अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गरेको, विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरेको, सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी नगरपालिकाको हितमा काम गरेको, नागरिकका गुनासाको सम्बोधन गरी सन्तुष्टि दिएको, जनता र कर्मचारीसँग सुमधुर सम्बन्ध राखी सेवा सरल गरेकाका कारण पुरस्कार दिएको भनिएको छ । प्रमुख प्रशासकीय अधिकृतले १५ महिनामै लाखौँ पुरस्कार पाउने गरी उपलब्धि केही नभए पनि गर्नैपर्ने कामलाई देखाएर पुरस्कार लिने बहाना बनाएको एक कर्मचारीले बताए ।
नगरपालिकाको आन्तरिक स्रोतबाट तीन लाख ७५ हजार ५५५ रुपियाँ लिनुभएका न्यौपानेको कार्यकाल रहेको आर्थिक वर्ष २०८१÷८२ मा आन्तरिक आय पाँच करोड ३० लाख रुपियाँ प्रक्षेपण गरिएकामा दुई करोड ८२ लाख रुपियाँ मात्रै उठेको छ । बाढी र विपत्ले आव्रmान्त भजनी नगरपालिकाको स्रोतबाट यत्रो रकम लिनु र दिनुु लाजमर्दो भएको स्थानीय नवराज काफ्ले बताउछन् । सङ्घीय सरकारले समेत दिन नसकिने राशिको पुरस्कार पालिकाबाट प्रमुख प्रशासकीय अधिकृतले लैजाने कुरा अख्तियारकै दुरुपयोग भएको त्यहाँ कार्यरत कर्मचारी बताउछन् । प्रशासकीय अधिकृत न्यौपाने हाल गरुडा नगरपालिकामा सरुवा भएका छन् । गोरखापत्रबाट

