कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा बृद्ध दम्पतीमाथि कुटपिटसँगै गहना र नगद लुटपाट भएको छ । शनिबार राति चाररपाँच जनाको लुटेरा समूहले गहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका हुन् । बालीहरु तान्दा उनको कानको लोती समेत चुँडिएको छ । ‘दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख नगद लुटिएको भनेका छन्,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘राति कोठामा बृद्ध दम्पती मात्रै थिए, उनीहरुमाथि कुटपिट पनि भएको रहेछ ।’


