धनगढी: कैलालीमा सवारी साधन दुर्घटनाको दर पछिल्ला महिनाहरूमा भयावह रूपमा बढेको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १७ गतेसम्म मात्र १ सय ४ वटा सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् भने २ सय १५ जना घाइते भएका छन्। ट्राफिक प्रहरी प्रमुख चक्र बहादुर देउवाका अनुसार साउन महिनामा ३३ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको र ६५ जना घाइते भएका थिए। भदौ महिनामा १७ वटा दुर्घटना हुँदा १ जनाको ज्यान गएको र ३१ जना घाइते भएको विवरण छ।
यस्तै, असोज महिनामा दुर्घटनाको संख्या बढ्दै २९ पुगेको र तीमध्ये ७ जनाले ज्यान गुमाएका छन् भने ७० जना घाइते भएका छन्। हालैको कात्तिक १७ गतेसम्मको अवधिमा मात्र २५ वटा सवारी साधन दुर्घटनामा ८ जनाको मृत्यु र ४९ जना घाइते भएका छन्। प्रमुख देउवाका अनुसार अधिकांश दुर्घटनाका कारण सवारी चालकले गति सीमा उल्लङ्घन गर्नु, लेन अनुशासन नपालनु, र मापसे गरेर सवारी चलाउनु रहेको छ। उनका अनुसार ट्राफिक प्रहरीले पछिल्ला दिनहरूमा सडक सुरक्षा अभियान सशक्त रूपमा सञ्चालन गरिरहेको छ।
उनले सवारी चालक र यात्रुहरूलाई सर्तक रहन आग्रह गर्दै सवारी चलाउँदा गति नियन्त्रण र ट्राफिक नियमको पालना अनिवार्य गर्नुपर्ने बताए। कैलालीमा बढ्दो दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।


