धनगढी: विशेषज्ञ वडा क्लिनिकमा धनगढी-१३ कना २५१ जनाको निःशुल्क उपचार भएको छ। आइतबार १३ नम्बर वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन भएको हो। धनगढी उपमहानगरपालिकाले हरेक महिना क्रमशः सबै वडामा २०७९ साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै आएको छ। कात्तिक २३ गते १३ नम्बर वडामा क्लिनिक सञ्चालन भएको हो।
विशेषज्ञ वडा क्लिनिकमा बिरामीको निस्शुल्क चेकजाँच हुन्छ। विशेषज्ञ चिकित्सकबाट बिरामीको परीक्षण हुने गरेको छ। जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ र आँखा, नाक, कान र घाँटी रोग विशेषज्ञले समेत समय(समयमा उपचार सेवा दिने गरेका छन्। यो पटक १३ नम्बर वडामा १२३ जनाले जनरल फिजिसियन सेवा, ५० जनाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा र ७८ जना बिरामीले आँखा रोग सम्बन्धी सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले वडा क्लिनिकमा निस्शुल्क प्रयोगशाला सेवा, इसिजी सेवा, अल्ट्रासाउन्ड सेवा, गर्भवती जाँच सेवा दिने गरेको छ। आइतबार ३० जनाले प्रयोगशाला सेवा, ९ जनाले इसिजी सेवा, २७ जनाले अल्ट्रासाउन्ड सेवा, ४४ महिलाले गर्भवती सेवा तथा ६७ जना ७० वर्षमाथिका बिरामीको उपचार गरिएको उपमहानगरपालिकाले जनाएको छ।

