धनगढी— पछिल्लो समय किसानहरूले भोगिरहेका विभिन्न समस्याप्रति गम्भीर ध्यान दिन माग गर्दै किसान महासंघ सुदूरपश्चिम प्रदेशले संघीय सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले बिहीबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री सुसीला कार्कीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा धान खरिदमा देखिएको ढिलासुस्ती, मलको अभाव, उखुको भुक्तानी र दूधको उचित मूल्य नपाएको जस्ता समस्याहरूको तत्काल समाधान गर्न माग गरिएको छ। महासंघका अध्यक्ष मदन रेग्मीले किसानहरू अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिन बाध्य भएको बताउँदै सरकार निष्क्रिय बनेको आरोप लगाए।
रेग्मीका अनुसार, “धान बिक्री गर्न किसान सरकारी काटामा हप्तौँसम्म लाइनमा बस्न बाध्य छन्, निजि क्षेत्रबाट पनि उचित मूल्य पाउन सकिरहेका छैनन्। मल खरिद गर्न पनि लाइन लाग्नुपर्ने अवस्था छ तर सरकार कानमा तेल हालेर बसेको छ।” उनले थपे, “किसानहरूले उत्पादन गरेको दूधको उचित मूल्य पाइरहेका छैनन्, उखुको भुक्तानी वर्षौँदेखि रोकिएको छ। यस्ता समस्या समाधान नगरे किसानको मनोबल कमजोर हुँदै जान्छ।”
महासंघले बुझाएको ज्ञापनपत्रमा कृषकका समस्या समाधानका लागि ठोस नीति निर्माण, समयमा मल उपलब्ध गराउने व्यवस्था, किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, कृषि बीमा प्रभावकारी बनाउनुपर्ने लगायतका मागहरू समावेश छन्। अध्यक्ष रेग्मीले किसान महासंघ सधैँ किसानका पक्षमा बोल्ने र उनीहरूको समस्या आफ्नै जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन्।
किसान महासंघ सुदूरपश्चिम प्रदेशले ज्ञापनपत्रमार्फत किसानका माग सम्बोधन नभए आन्दोलनमा जानुपर्ने चेतावनी पनि दिएको छ।


