धनगढी । मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलाल्मिा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो ।
अब ७ दिन मात्र समय बाँकी रहेकाले निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।
आइतबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुग्दा पटक–पटक सर्भर डाउन भएको देखियो । जसका कारण एक मिनेटमा हुने काम आधा घण्टासम्म सेवाग्राही कुरेर बस्नु परेको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलाल्मिा धनगढीका प्रमुख प्रम भट्टले मतदाता नामावलीमा नाम समावेश गर्नआउनेको संख्या बढेको बताए । उनले अहिले सम्म ३ हजार जति नयाँ मतदाता कैलालीमा मात्रै थपिएको बताए ।

समस्याका बीच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएर आएको देखियो । केहिले ‘राम्रो उम्मेदवारलाई भोट दिन नाम दर्ता गर्न आएको बताएका छन् भने केहिले अहिलेको राजनैतिक परिर्वतन पछि आशा पलायर भोड दिन आएको बताए ।
एक पटक नाम दर्ता गरेकाहरूलाई दर्ताको लागि नआउन कार्यालयले आग्रह गरेको छ । ३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ ।
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।
आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।


