कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा आइतबार बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्गको बौनियाँ–सुखड खण्ड अहिले सुचारु भएको छ। बिहान करिब साढे ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा साइकल यात्री र पैदलयात्री घाइते भएका थिए। दुर्घटनामा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय साइकल यात्री शंकर डगौराको मृत्यु भएको थियो। तीन जना घाइते छन्।
घटनापछि आक्रोशित स्थानीयहरूले निष्पक्ष छानबिन र मृतकका परिवारलाई न्यायको माग गर्दै राजमार्ग बन्द गराएका थिए। त्यसकारण सवारी आवागमन ठप्प भएको थियो। प्रहरीले जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


