धनगढी । कैलालीमा संघीय सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचनको तयारीको काम धमाधम भइरहेको छ । जिल्लामा नयाँ मतदाता नामावली दर्ता गर्ने, मतदाता नामावली सार्ने, मतदाता नामावली सच्याउने, मतदान केन्द्रको अनुगमन गर्ने, निर्वाचन सामग्री अद्यावधि गर्ने लगायतका काम भइरहेका हुन ।
निमित्त प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले कार्यालयमा हाल मतदाता नामावली दर्ता र अद्यावधिको काम भइरहेको बताए । उनले कैलालीमा रहका २३७ मतदान स्थलको अनुगमन गर्ने काम पनि सँगसँगै भइरहेको बताए । ‘हाल हामीले मतदान स्थलको अनुगमन गरिहरेका छौ’ उनले भने ‘हालसम्म गौरीगंगा, गोदावरी, घोडाघोडी, लम्की चुहा, टीकापुरका धेरै मतदान स्थलको अवलोकन गरिसकेका छौ ।’ उनले पुराना मतपेटिकालाई पनि एक चरणको अद्यावधिक राख्ने काम गरिएको बताए ।
उनले कार्तिक ३० गते सम्म कार्यालयमा मतदाता नामावली दर्ताको काम भइरहेकाले अहिले त्यसमा बढी जोड दिइएको बताए । कैलालीमा असोज १० गतेदेखि मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु भएको थियो । जसमा आइतबार दिउँसो सम्ममा जिल्ला भित्र र बाहिरका गरेर १ हजार २६९ जनाले मतदाता नामावलीमा नाम गर्दा गराएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जसमा जिल्ला भित्रका मात्रै १ हजार ४७ जना रहेका छन् । ती मध्ये पुरुष ६५८ र महिला ३८९ जना रहेका छन् ।
जिल्ला बाहिरका २२२ जनाले कैलालीबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा १६१ पुरुष र ६१ महिला रहेका छन् । निर्वाचन आयोगले हाल आफू बसेकै जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको छ । कात्तिक ३१ गतेसम्म निर्वाचन आयोगले नाम दर्ताको काम गर्ने जनाएको छ ।
कैलालीमा ७ हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान गरिएको छ । कैलालीमा २०७८ को जनगणना अनुसार ९ लाख ११ हजार १५५ जनसङ्ख्या रहेकोमा ५ लाख ३७ हजार मतदाता रहेका थिए । २०८१ चैत मसान्त सम्म कैलालीमा १८ वर्ष उमेर पुगेकाहरूको जनसङ्ख्या भने ५ लाख ३५ हजार ३४४ रहेको छ । कैलालीमा प्रतिनिधि सभा निर्वाचनका लागि ५ निर्वाचन क्षेत्र तोकिएका छन् ।
जसमा कैलाली क्षेत्र नम्बर १ मा १ लाख ६ हजार ७०३, क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ९०६, क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ६५९, क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ४५३ र क्षेत्र नम्बर ५ मा १ लाख ५ हजार ७९३ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । कैलालीमा ५ निर्वाचन क्षेत्रको २३७ मतदान स्थल र ६२९ मतदान केन्द्र तोकिएका छन् ।

