धनगढी । लामो रस्साकस्सीपछि कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ कार्यान्वयनको चरणमा पुगेको छ। दुवै सदनबाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलले असार ४ गते प्रमाणीकरण गरेको ऐन साउन २ गतेदेखि लागू भएको थियो। ऐन लागू भएको ९० दिनभित्र पहिलो सभा बैठक बस्नुपर्ने कानुनी प्रावधानअनुसार मंगलबार, लागू भएको ८८ औँ दिनमा, विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न भएको छ। यससँगै ऐनको औपचारिक कार्यान्वयनको ढोका खुलेको हो।
मंगलबारको बैठकले विश्वविद्यालयका मुख्य कार्यकारी पद उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। समितिको संयोजकमा प्रा. डा. जयराज अवस्थी रहेका छन् भने सदस्यमा प्रा।.डा. दीपक महरा र प्रा. डा. भारती जोशी छन्। ऐन अनुसार सिफारिस समितिले ६० दिनभित्र योग्य व्यक्तिहरूको नाम सिफारिस गर्नुपर्ने र त्यसपछि सभाले सिफारिस प्राप्त भएको ३० दिनभित्र नियुक्ति गर्नुपर्ने व्यवस्था छ। यस अनुसार अब अधिकतम ९० दिनभित्र विश्वविद्यालयले स्थायी उपकुलपति र रजिस्ट्रार पाउने सम्भावना छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको उक्त बैठकले सभाका ७ सदस्य पनि चयन गरेको छ। तीमध्ये सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तलाई स्वास्थ्य विज्ञानसम्बन्धी विश्वविद्यालयका प्रतिनिधिका रूपमा मनोनीत गरिएको छ। त्यस्तै, विभिन्न क्षेत्रका विज्ञको कोटाबाट प्रा. डा. जयराज अवस्थी, प्रा. डा. अम्मराज जोशी, डा. लवदेव अवस्थी, प्रा. डा. संगीता राज भण्डारी, डा. डम्बरबहादुर पाल र सह–प्रा. अनुराधा रोकायलाई सदस्यका रूपमा चयन गरिएको छ। बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतका सभासद्हरूको सहभागिता थियो।
यद्यपि विश्वविद्यालयको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिको बाटो खोले पनि अझै ऐनअनुसारका अन्य निकायहरू—प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पताल—को संरचना बन्न बाँकी छ। हाल गेटा अस्पताल विश्वविद्यालय परिसरमै सञ्चालनमा भए पनि यसलाई अझै विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा घोषणा गरिएको छैन। कार्यकारी पद पूरै गठन भएपछि मात्र त्यसतर्फ औपचारिक प्रक्रिया अघि बढ्ने बताइएको छ।

