डडेल्धुरा: सुदूरपश्चिमका विभिन्न शक्तिपीठ र देवस्थलमा दसैँ अवसरमा हुने पूजाआजा सम्पन्न भएका छन् । घटस्थापनादेखि नवरात्रसम्म कुलदेवता र देवीदेउताको पूजा, होम र बलि दिने परम्परा रहिआएको पण्डित करुणाकर भट्टले जानकारी दिए। महाअष्टमीका दिन डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली र डोटीको शैलेश्वरी भगवती लगायतका मन्दिरमा विशेष पूजाआजा र राँगा–बोकाको बलि दिइएको थियो । अष्टमीका दिन बाजागाजा र डोलीसहित देउरो ९शोभायात्रा० लैजाने परम्परा पनि रहिआएको छ ।
अमरगढी नगरपालिका–७ पोरामा रहेको समैजी मन्दिरमा पाँच गाउँका पूजासामग्रीसहित नवरात्रभर पूजा र होम गर्ने चलन छ । दसैँमा धामीबाट टीका–प्रसाद ग्रहण गरी मात्र ठूलाबडाबाट टीका थाप्ने प्रथा रहेको छ । तिहारपछि सुदूरपश्चिमका प्रमुख मन्दिरहरूमा वार्षिक भव्य मेला लाग्ने गर्दछ । तिहारका पाँच दिनपछि शैलेश्वर महादेव, १० दिनपछि समैजी र १५ दिनपछि उग्रतारा भगवतीमा विशेष पूजा तथा देहिजाँतसहित मेला लाग्ने परम्परा छ ।
धार्मिक सभामा देवता र भक्तबीच अदालतसरह वार्तालाप हुने, पीडा पोख्ने, माफी माग्ने र उपाय बताइने चलन रहेको पण्डित भट्टले बताए । यसै अवसरमा भक्तजनहरूले बत्ती पूजा, ध्वजा, सुनचाँदी, शस्त्रसहितका सामग्री चढाउने परम्परा पनि रहिआएको छ ।


