धनगढी: सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा परिचित धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वर्षेनि बढ्दै गएको छ । तर, बिरामीको चापअनुसार आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारको अभावका कारण अस्पतालले सहज र प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ भोगिरहेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार २ सयदेखि १ हजार ५ सयसम्म बिरामीले बाह्य रोगी विभाग (ओपीडी) सेवा लिने गरेका छन् । यसरी बढ्दो चापअनुसार पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा ढिलाइ हुने र सेवा प्रवाहमा समस्या देखिने गरेको छ ।
हाल सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी कुल १ सय २५ शय्या मात्र स्वीकृत भए पनि बिरामीको भीडलाई ध्यानमा राख्दै अस्पतालले हाल करिब ३ सय शय्यामा सेवा दिइरहेको छ । अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ लाख २३ हजार २४ बिरामीले सेवा लिएका थिए भने गत आर्थिक वर्षमा यो संख्या बढेर २ लाख ३८ हजार ५ सय २१ पुगेको छ । यस अवधिमा मात्र ४० हजारभन्दा बढीले आपतकालीन (इमरजेन्सी) सेवा लिएका छन् । हाल अस्पतालले १७ वटा ओपीडीमार्फत सेवा दिइरहेको छ । यसमध्ये प्रसूति, बालरोग, हाडजोर्नी तथा शल्यक्रिया सेवा बढी लोकप्रिय छन् । पछिल्ला वर्षमा अस्पतालले विशेषज्ञ उपचार सेवा विस्तार गरे पनि पर्याप्त जनशक्ति नहुँदा त्यसको प्रभावकारिता घटेको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार हाल करिब ३ सय शय्या सञ्चालन गरिरहेको अस्पतालका लागि कम्तीमा ७ सय ७० जना कर्मचारी आवश्यक पर्ने भए पनि सो संख्याको आधाभन्दा कम मात्र जनशक्ति उपलब्ध छ । जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको कमीका कारण बिरामीले समयमै उपचार पाउन कठिनाइ भोगिरहेका छन्, उनले बताए । यससँगै अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको ८ वर्ष बितिसक्दा पनि अधुरो रहेको छ । जसका कारण दिनहुँ हजारौँ बिरामीले सेवा लिने यस अस्पतालमा थप चाप देखिएको छ ।
प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा चिनिएको सेती प्रादेशिक अस्पतालमा गुणस्तरीय र समयमै सेवा प्रवाह सुनिश्चित गर्न अबिलम्ब जनशक्ति थप, अत्याधुनिक उपकरण विस्तार र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ ।


