धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ रतनपुरकी ३२ वर्षीया राजमती चौधरीलाई गोहीले टोकेपछि सख्त घाइते भएकी थिइन् । असोज १२ गते बिहान घर नजिकै खोलामा माछा मार्ने क्रममा अचानक गोहीले आक्रमण गरेपछि उनको दायाँ घुँडामा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामै स्थानीयले तत्काल उद्धार गरी उनलाई कैलाली अस्पताल पुर्याएका थिए । अस्पतालमा कार्यरत जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा। विवेक जोशीको टोलीले तत्काल शल्यक्रिया ९अपरेशन० गरी उपचार गरेको हो । शल्यक्रियापछि अहिले राजमतीलाई अस्पतालमै चिकित्सकको विशेष निगरानीमा राखिएको छ ।
डा. जोशीका अनुसार गोहीको टोकाइ अत्यन्तै गहिरो र जटिल हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । समयमै उपचार भएकै कारण अहिले अवस्था नियन्त्रणमा छ, उनले बताए । राजमतीका श्रीमान् मायाराम चौधरीले घटनाको विवरण सुनाउँदै भने, “गोहीले टोकेपछि उनको घुँडाको मासु पूरै च्यातिएको थियो । हामी निकै आत्तिएका थियौं तर डाक्टरहरुले सजिलै उपचार गर्नुभयो । अहिले अवस्था स्थिर भएपछि परिवारलाई ठूलो राहत मिलेको छ।”
यसअघि पनि कैलाली तथा आसपासका नदी–खोलामा माछा मार्ने, खोलामा खेल्ने वा घरपालुवा पशु चराउने क्रममा गोहीले आक्रमण गर्ने घटना भइरहेका छन् । तर, स्थानीय अस्पतालमा समयमै उपचार सुविधा उपलब्ध भएकाले ज्यान जोगिने सम्भावना बढेको चिकित्सकहरूको भनाइ छ ।
हाल राजमती चौधरीको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको र पूर्ण रूपमा निको हुन केही समय लाग्ने अस्पतालले जनाएको छ ।


