धनगढी । सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण संघ ९एनएमए० द्वारा आयोजित बिदाइ कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।
नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो।
बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर९शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे।
“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” मन्त्री पाण्डेले भने।
अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा १५ जना आरोही सहभागी छन्। आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।

