धनगढी । एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युटले आफ्ना सदस्य संस्थाहरुले सञ्चालन गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण नियमित रूपमा सञ्चालन भइरहेको धनगढीमा आयोजित एक पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेको छ।
संघले २०८२ साउन २६ गते सीटीइभीटीसँग भएको सम्झौताअनुसार प्रशिक्षण सञ्चालनमा कुनै अवरोध नरहेको र नियमित रूपमा सञ्चालन भइरहेको एएचटीआई धनगढीका अध्यक्ष कमल पनेरुले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
एएचटीआईका अनुसार सदस्य संस्थाहरूमार्फत तयार भएका जनशक्तिको माग विश्व बजारमा ठूलो रहेको र विशेषगरी एसईईमा असफल भएका विद्यार्थीहरूलाई समेत रोजगारीमा अवसर मिलिरहेको बताइएको छ। संघले प्रशिक्षार्थीहरूले सहजै स्टार होटल तथा रिसोर्टहरूमा राम्रो पारिश्रमिकमा रोजगारी पाएका दावी गरेको छ।
यसैबीच केही सञ्चारमाध्यममा प्रयोग भएको “छापा” भन्ने शब्दप्रति संघले आपत्ति जनाएको छ। संघका अनुसार मिडियामा आएको समाचारले सदस्य संस्थाहरूको प्रतिष्ठामा आँच पुगेको र भर्नामा नकारात्मक प्रभाव परेको भन्दै अनुगमनलाई ‘छापा’ भनेर नबुझिदिन एएचटीआई धनगढीका सचिव गणेश शाहीले बताए।
त्यस्तै संघले इटीभीए मलेसियासँगको सहकार्यसम्बन्धमा पनि स्पष्ट पारेको छ। “सीटीईभीटी सँगको २०६२ साल साउन २६ गतेको सम्झौता अनुसार हाल हामीले ईटीभीए सँगको सहकार्य बन्द गरी पूर्ण रूपमा सीटीईभीटी सम्बन्धन प्राप्त छोटा अवधिका कोर्षहरू मात्रै सञ्चालन गरिरहेको अध्यक्ष पनेरुले जानकारी दिए।
तर अन्य प्रदेशमा अझै पनि करिब ४०० भन्दा बढी संस्थाहरूले ईटीभीएसँग सहकार्यमा प्रशिक्षण सञ्चालन गरिरहेको हुँदा आफूहरूमाथि सौतेलो व्यवहार भएको महसुस भएको एएचटीआईका धनगढीका अध्यक्ष पनेरुले गुनासो गरे ।
एएचटीआई धनगढीले यदि नियम लागू गरिएको हो भने, नेपालभरका सबै संस्थामाथि समान रूपमा लागू गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरेको छ।

