मजदुरीका लागि भारतको उत्तराखण्ड पुगेकी सुर्खेतकी १७ वर्षीया किशोरीको मृत्यु भएको छ । बुधबार राति जिल्लाको बराहताल गाउँपालिका– ८, भट्टेघारीकी सुनिता सुनारको मृत्यु भएको हो । उनी आफन्तसँग निर्माण मजुदरका रुपमा काम गर्न गत ७ साउनमा रोपाइँ सकेर उत्तराखण्डस्थित अलमुढा बजार पुगेकी थिइन ।
स्थानीय मदन भण्डारीका अनुसार गएराति एक्कासि पेट दुख्ने समस्या देखापरेपछि उनलाई अलमुढास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममै उनको मृत्य भएको हो । उनको शव नेपाल ल्याउने तयारी रहेको भण्डारीले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाडेकी सुनिता दसैँ खर्च जुटाउन छिमेकीसँग भारत गएकी थिइन् । बुवाआमाको शारीरिक अस्वस्थताले घर खर्च चलाउन गाह्रो परेपछि उनी भारत गएकी हुन् । खेतबारीको उत्पादनले ६ महिना पनि खान नपुग्ने उनको परिवारको मुख्य आय स्रोत नै दैनिक ज्याला मजदुरी हो ।
सुनिताको मृत्युले उनको परिवारमा सन्नटा छाएको छ । गाउँमै काम नपाएपछि मजदुरी गर्न घर छाडेकी एक मात्र छोरी सुनिताले भारतमै प्राण त्यागेपछि उनका ७१ वर्षीय बुबा कविराम सुनार र उनकी आमा पीडामा छन् ।

