धनगढी । बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग गरिएको छ । महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको हो । आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेको छ । उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लीलाधर भट्टले बताए । उद्योगमा २५ अर्ब रुपियाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।
सिमेन्ट उद्योग सञ्चालन हुँदा सडकलाई असर पर्ने वा नपर्ने विषयमा राय मागिएको छ’ उनले भने ‘भौगोलिक रूपमा सडकबाट पाँच सय मिटरभन्दा टाढा नै देखिए पनि हवाई दुरी भने करिब पाँच सय मिटर जति देखिन्छ । यसका लागि हामीले सुर्खेतस्थित सुपरिन्टेन्डेन्ट इन्जिनियरको अनुमति मागेका छौँ ।’
सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षणसहितको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले बताए । उनले पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको जानकारी दिए ।
प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक खड्काले बताए । खानीबाट दैनिक चार हजार ५०० टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको उनले जानकारी दिए । यहाँको ढुङ्गामा ५० प्रतिशत चुन ९क्याल्सेसियम अक्साइड० र १।२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । नेपालमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गामा तीन प्रतिशतभन्दा बढी म्याग्नेसियम अक्साइड राम्रो मानिँदैन । म्याग्नेसियम अक्साइडको मात्रा जति कम भयो, त्यति राम्रो हुने भूवैज्ञानिक खड्काको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सकारले २०७७ सालमा गरेको अध्ययन अनुसार बैतडीमा नेपालकै राम्रो चुनढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । प्रदेश सरकारको अध्ययनपछि आइएमई समूहले नवलपरासीपूर्वको चोरमारामा १० अर्ब रुपियाँमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना स्थगन गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो । नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।
फलामसमेत बैतडीमै
सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलामसमेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगी थप उत्साहित भएका छन् । फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको छ । फलाम उत्खनन गर्ने कम्पनी पनि सिमेन्ट उद्योग खुल्ने प्रतीक्षामा छ । गोरखापत्र

