मङ्गलसेन । अछामको ढकारी गाउँपालिका– ४ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मङ्गलवार साँझ करिब ४ बजे ढकारी गाउँपालिका–४ कैलाशस्थित वसन्त सामुदायिक वन अन्तर्गत बोके खोला क्षेत्रमा बाघले आक्रमण गर्दा कैलाली मोहन्याल गाउँपालिका–१ फलिबिसौनाका ४८ वर्षीय धर्मसिंह थापा घाइते भएका हुन् ।
थापा हाल मोहन्यालमा बसोबास गर्दै आए पनि उनी आफ्नो ससुराली घर कैलाश आएका बेला पुर्ख्यौली घर हेर्न गएका थिए । उक्त वन क्षेत्रमा जाँदै गर्दा जङ्गली जनावर बाघले आक्रमण गरी घाइते बनाएको जनाइएको छ। प्रहरीका अनुसार बाघको आक्रमणबाट थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ । हाल उनको अवस्था मध्यम रहेको र उपचारको लागि उनलाई जिल्ला अस्पताल मङ्गलसेन अछाम लगिएको छ।


