काठमाण्डौँ: एमालेको नेतृत्वमा आउने तयारी गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्कालका लागि पार्टीको ढोका बन्द गरिएको छ । ६ साउन मध्यरातको निर्णयलाई आधार मान्दा अहिले भण्डारीलाई एमालेले नेता(कार्यकर्ताको रूपमा चिन्दैन । अब उनी ‘गणतन्त्रको प्रतीक’ हुन् । दुई वर्ष शक्ति सञ्चय गरी राजनीतिमा पुनरोदय गर्ने सोच बनाएकी भण्डारीको भोलिको राजनीतिक भविष्य के होला रु अहिले नै यसै भन्न सकिने अवस्था छैन । तर, गत १४ असारमा सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछिका घटनाक्रम मात्रै केलाउने हो भने भण्डारी राजनीतिक पुनरागमनका लागि रणनीति बनाउन चुकेको देखिन्छ ।
अपर्याप्त छलफल
भण्डारीले सक्रिय राजनीतिमा आउने बेला आफ्ना शुभेच्छुक नेता(कार्यकर्तासँग पर्याप्त छलफल गरेको पाइएन । धेरै नेताहरूले त अध्यक्ष केपी शर्मा ओलीसँग पर्याप्त छलफल भइरहेको बुझेका थिए । तर, मदन भण्डारीको जन्म जयन्तीको दिन १४ असारमा राष्ट्रियसभामा प्रमुख वक्ता ओलीले जे–जसरी बोले, कार्यकर्ताले अनुमान लगाइसकेका थिए कि उनीहरूबीचको सम्बन्धमा दरार आइसकेको छ । त्यसको पुष्टि लगत्तै आएको भण्डारीको भिडियो अन्तर्वार्ताले गर्छ ।
त्यसो त भंगाल–बालकोट गरिरहने नेताहरूले सुरुका दिनमा ओली र भण्डारीबीच पर्याप्त छलफल भइरहेको बुझेका थिए । किनकि मन्त्री, जिम्मेवार कमिटीका इन्चार्जलगायतको भूमिकामा भण्डारीले हाकाहाकी भाग लिने गरेको चर्चा एमालेमा नयाँ थिएन । अहिले तिनै आफ्नो ‘कोटामा’ जिम्मेवारीमा रहेका नेताहरूसँग सघन छलफल नगरी भण्डारी अघि बढेको नेताहरूको भनाइ छ । यसअघि उनको साथमा रहेका नेताहरूका अनुसार भण्डारीले ओलीसँग निरन्तर भेटघाट भनिए पनि त्यसको सार नजिकका सँग छर्लङ्ग बनाइएन ।
कमजोर टिम
भण्डारीसँग भएको टिम कमजोर रह्यो । पूर्वमन्त्री एवं स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई पार्टीले कुनै निश्चित जिम्मेवारी दिएको छैन । उनी चीन भ्रमणमा समेत भण्डारीसँगै थिए । उनी त भण्डारीका प्रवक्ताजस्तै बनिरहेका थिए । तर, जसको संगठनभित्र परिभाषित जिम्मेवारी छैन, उसैको साथ लिएर हिँड्दा कति नेता-कार्यकर्ता पछि लाग्छन् भन्ने एमालेकै कार्यकर्ताहरूले टिप्पणी गरेका छन् । उनीहरूले थापासँगै ईश्वर पोखरेलको भूमिकामाथि पनि प्रश्न उठाए । दोस्रो वरीयताका शक्तिशाली नेता पोखरेलले संसदीय निर्वाचनमा पनि पराजय भोगेका थिए । तर, उनैलाई अघि सारेर १४ असारमा गरिएको राष्ट्रियसभाको ‘घोषणासभा’ भण्डारीलाई प्रत्युत्पादक बन्यो ।
त्यसका साथै उनीसँग रहेका अर्का नेता युवराज ज्ञवालीसँग लामो वामराजनीतिको विरासत भए पनि हाल संगठनमा प्रभाव पार्न सक्ने नेता होइनन् । उनको पक्षमा केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा ५ मिनेट समय माग्दै अध्यक्षको निर्णयलाई चुनौती दिनेगरी बोलेका नेता सुरेन्द्र पाण्डेले भने व्यक्तिगत राजनीतिक दाउमा राखेरै पक्षधरता देखाएका छन् । हाल उनको संगठनभित्रको प्रभाव शक्तिशाली नभए पनि भूगोलमा उनको प्रभाव अझै राम्रो छ ।
पराजितहरू अघिपछि
पछिल्ला दिनमा भण्डारीका वरिपरि एमालेका विभिन्न संगठन र भ्रातृ संगठनका पराजित नेता–कार्यकर्ताहरू सक्रिय रूपमा देखिन थाले, जसमा युवा संघ नेपालको अध्यक्षमा पराजित सुमन पुरी, अनेरास्ववियुको अध्यक्षमा पराजित प्रकाश पौडेल र प्रेस चौतारीको अध्यक्षको उम्मेदवार बन्नबाट वञ्चित गराइएका राजेश राईसहितको टिम थियो । यो टिम मदन भण्डारी फाउन्डेसनका विभिन्न कार्यक्रममा पनि विद्यासँगै अग्र मोर्चामै देखियो । यो त्यही टिम हो, जसले यसअघि केपी ओलीको विकल्पै छैन भनिरहेको थियो । त्यही टिम आन्तरिक चुनाव हारेर विद्यासँग नजिकिएपछि ओली थप रिसाए । यो विषयलाई ओलीले कतिसम्म नोट गरेका रहेछन् भन्ने कुरा ओलीले केद्रीय कमिटीको बैठकलाई गरेको सम्बोधनबाट पुष्टि हुन्छ, जहाँ ओलीले हारेकाहरू पनि भण्डारीसँग देखिए भनेर अपमानजनक टिप्पणी नै गरेका थिए ।
वाम एकताको सन्देश
भण्डारीनिकट नेताहरू अब वाम एकता हुने भन्दै चर्चा गर्न थाले । अर्थात्, वाम एकताको बाधक केपी ओली हुन् र अब उनको ठाउँमा भण्डारी सर्वमान्य नेता हुने सम्भावना रहेको भन्ने सन्देश छर्दै गर्दा ओली झनै चिढिन थाले । त्यसपछि उनले भण्डारीका लागि प्रतिकूल वातावरण बनाउन पार्टीभित्र र सत्ता साझेदार दलबीच रणनीति बनाउन थाले भन्ने बुझाइ एमालेवृत्तमा छ ।
शेखर–प्रचण्डसँग संवाद १
२ साउनमा भण्डारीले कांग्रेस नेता शेखर कोइरालासँग निवासमै भेटवार्ता गरिन् । कोइराला यसरी हतारिएर भंगाल पुग्नु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर थियो भन्ने धेरैले बुझे । किनकि उनी सोही दिन बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । त्यसो त यसअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि भण्डारीलाई निवासमै भेटिसकेका थिए । तर, उक्त दिन कोइरालासँग भएको भेटलाई एमाले नेताहरूले संशयका साथ हेरिरहेका थिए ।
किनकि अघिल्लो दिन १ साउनको सचिवालय बैठकमा विद्या भण्डारीको एमाले राजनीतिमा फर्किने कुराले औपचारिक रूपमा प्रवेश पाएको थियो । आफ्नो शक्ति अभ्यासका लागि भण्डारी ओली नेतृत्वको सरकारलाई अप्ठ्यारो पार्ने नीतिमा अघि बढेकी त होइनन् भन्ने प्रश्न बालुवाटारमा जन्मियो ।
पत्रकार भेटघाट
केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक चल्दै गर्दा ६ साउनमा भण्डारीले पत्रकारसँग निवासमै भेटघाट गरिन् । उक्त विषयले एकाएक सनसनी मच्चियो । उनले ‘माझ किराँतकी छोरी हुँ’ भन्दै अबको राजनीतिक यात्रा नरोक्न दिएको ठाडो चुनौतीले ओलीलाई केन्द्रीय कमिटीबाट थप कसिलो निर्णय लिन बाध्य पारेको चर्चा छ । अहिले भण्डारीनिकट नेताहरू नै ६ साउनको पत्रकार भेटघाट नभएको हुन्थ्यो भने एमालेको निर्णय केही ‘सफ्ट’ हुने थियो कि भनेर टिकाटिप्पणी गरिरहेका छन् ।


