धनगढी । प्रेस चौतारी नेपाल कैलालीको दोस्रो पूर्ण बैठक शनिवार कैलालीको चिसापानीमा सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टको अध्यक्षता, सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्यालको प्रमुख आतिथ्यतामा बसेको बैठक विभिन्न महत्वपूूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
एमाले केन्द्रीय सदस्य कमला ओलीको प्रमुख वक्ता रहेको बैठकमा पार्टी प्रदेशका सचिवालय सदस्य सुर्य थापा, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य हेमन्त पौडेल, संगठनका प्रदेश सहइन्चार्ज सुशिल ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, एमाले कैलालीका उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चूडामणि भट्ट, प्रदेश अध्यक्ष नरेन्द्र सिंह कार्की, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुंगाना, प्रदेश चौतारीका पूर्व प्रदेश इन्चार्ज गोविन्द रोस्यारा, पत्रकार महासंघ सुदूरपश्चिम महासचिव शिवराज भट्ट, महासंघ कैलालीका उपाध्यक्ष विराज रोस्यारा, सहसचिव निराजन परियार लगायतका नेताहरु अतिथि रहेका थिए ।
सम्पन्न बैठकले संगठन सुदृढीकरण, पत्रकार हित, आर्थिक पारदर्शिता र भविष्य योजना सम्बन्धी महत्वपूर्ण निर्णय पारित गरेको छ। बैठकले पत्रकार अक्षयकोष स्थापना गर्न बनेको कार्यविधि सुझावसहित पारित गर्दै सहयोगका लागि सबैलाई अपिल गरेको छ भने संगठनमा क्रियाशिल भएर सञ्चार उद्यम गरिरहेका पत्रकारले गर्ने न्यूनतम सहयोग शुल्क, साधारण सदस्यबाट पनि न्यूनतम सहयोग शुल्क निर्धारण गर्दै सहयोगका लागि सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।
यी हुन् बैठकले गरेका मुख्य निर्णय
१. पत्रकार अक्षयकोष स्थापना र कार्यविधि पारित
पत्रकार हितका लागि स्थायी अक्षयकोष स्थापना गर्ने निर्णय गर्दै अध्यक्ष जनक सिंह विष्टद्वारा प्रस्तुत कार्यविधि सुझावसहित पारित ।
२. पत्रकारिता पुरस्कार स्थापना
प्रत्येक वर्ष संस्था दिवसमा सृजनशील युवा पत्रकारिता पुरस्कार र चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने
३. सदस्यता नवीकरण समिति गठन
सचिव दिनेश विष्टको संयोजकत्वमा सदस्यता नवीकरण तथा नयाँ सदस्य आव्हान समिति गठन गरेको छ । सदस्यमा सहसचिव भूपेन्द्र बिक, धु्रव ओझा र कोषाध्यक्ष जीवन विष्ट रहेका छन् ।
४. वार्षिक कार्ययोजना निर्माण समिति गठन
२०८२÷८३ को कार्ययोजना १० दिनभित्र निर्माण गर्ने निर्णय गर्दै उपाध्यक्ष लोकु सिंह ठकुरीको संयोजकत्वमा समिति गठन गरेको छ । सदस्यमा उपाध्यक्ष निर्मला शाही, सचिव दिनेश विष्ट, सहसचिवद्वय भूपेन्द्र बिक, धु्रव ओझा र कोषाध्यक्ष जीवन विष्ट रहेका छन्।
५. प्रदेश तथा केन्द्र अधिवेशनमा चयन भएकाहरुलाई बधाई
प्रेस चौतारीको प्रदेश र केन्द्रिय अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । साथै चिसापानीको प्रचारप्रसारमा संस्थागत भूमिका रहने निर्णय समेत गरेको छ ।

