बैतडी: बैतडी जिल्ला ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकालाई आवश्यक सम्पूर्ण खोपहरू उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको हो ।
पहिलोपटक सन् २०७२ साल असार ६ गते बैतडीलाई नेपालमै सातौँ ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष दिगोपनको मूल्याङ्कन गरी सुनिश्चितता घोषणा गरिँदै आएको छ । यसपटक पनि सबै आवश्यक मापदण्ड पूरा भएपछि पुनः दिगोपना सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्या लय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए ।
उक्त अवसरमा जिल्लाका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । यस्तै, वडा र गाउँपालिका तहमा खोप सुनिश्चितता घोषणा भइसकेका क्षेत्रका स्वास्थ्य प्रमुखहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. खगेन्द्रबहादुर बमले पूर्ण खोप दिगोपनको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामिलाई हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि खोप सुनिश्चिततामा थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।


