धनगढी: सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत तीन महिनादेखि विकास समितिविहीन अवस्थामा छन् । त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न नसकिएको अस्पतालका प्रमुखको भनाइ छ । सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताल नेतृत्वविहीन छन् ।
यस्तै दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्ला अस्पताल नेतृत्वविहीन छन् भने कैलालीको टीकापुरमा रहेको जिल्लास्तरको हैसियत भएको टीकापुर अस्पताल पनि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका प्रमुख चेतराज जोशीले बताए । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताइन् । विकास समितिले राम्रो काम ग¥यो कि नराम्रो गरिरहेको छ, समिति आवश्यक हो कि होइन भन्ने विषयमा छलफल चलिरहेको उनले बताइन् । सो विषयमा अहिले मन्त्रालयमा मात्रै छलफल भएको तथा यसपछि प्रदेश सभामा छलफल गरेर अन्तिम निष्कर्ष निकालिने उनले बताइन् ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका अस्पतालमा चैत अन्तिम सातादेखि विकास समितिविहीन भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर सञ्जीव श्रेष्ठले जानकारी दिए । विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने नीतिगत निर्णय, समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने कुरामा कठिनाइ भइरहेको उनले बताए ।
यस्तै समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा केही अन्योल भएको उजले बताए । २०७९ चैत २३ गते नियुक्त गरिएका अध्यक्ष र समितिका अरू सदस्यको पदावधि तीन वर्षपछि २०८२ चैत अन्तिम साता सकिएको छ । बझाङ जिल्ला अस्पतालका प्रमुख डाक्टर नवराज जोशीका अनुसार अस्पतालका संरचना निर्माण, राजनीतिक नेतृत्वसँगको समन्वय र कर्मचारीको म्याद थप गर्नेलगायतका विषयमा केही समस्या भएको छ । “अस्पतालमा थुप्रै कुराको विकासका लागि विकास समिति आवश्यक छ, सरकारले छिटो नयाँ कार्यसमितिलाई नियुक्ति गराइदिनु पर्छ,” उनले भने ।
बझाङ अस्पतालमा नियुक्त गरिएका करारका स्वास्थ्यकर्मीको म्याद थप्ने बेला पनि हुन लागेको छ । चालु आर्थिक वर्षको केही दिन मात्रै बाँकी रहेको हुँदा तत्काल समितिबाट गराउनुपर्ने खासै काम नभएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा सुशील वि.कले बताए ।


