धनगढी। कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यसहित सोमबार सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।३
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रमको समुदघाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन । सो अवसरमा उनले रक्तदान अहिलेको आवश्यकता रहेको बताइन । उनले विशेषतः विरामीहरुको ज्यान जोगाउन रगत आवश्यक पर्ने भएकाले त्यसको पुर्ति गर्न सबैले रक्तदान गर्न जरुरी रहेको बताइन ।
सुदूरपश्चिमका केही सीमित जिल्लामा मात्र ब्लड बैंक स्थापना गरिएको औल्याउँदै उनले भनिन् ‘मन्त्रालयले छिट्टै ९ वटै जिल्लामा ब्लड बैंक स्थापनाका लागि गृहकार्य गरिरहेको छ ।’
रक्तदानले समुदायमा ठूलो योगदान पुग्ने पनि उनले बताइन् । सो कार्यक्रममा रक्तदान सद्भावना दुत दीपक उपाध्याय र पत्रकार प्रदिप पाठकले रगत दिँदा हुने फाइदा र समाजमा पर्ने सक्ने सकारात्मक प्रभाव, रक्तदानको सकारात्मक पक्ष लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका केन्द्रीय सदस्य हिमाल जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियन कैलालीका उपाध्यक्ष सुनिल आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर बोहराले गरेका थिए भने कोषाध्यक्ष गगन अयडीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

