धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा सामाजिक विकासका लागि हाम्रो सक्रियता, शान्तिका लागि समाजको सक्रियता कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १२ को आयोजना तथा सेभ द चिल्डन र याड नेपालको सहकार्यमा समाज सुधारका लागी सो कार्यक्रम आयोजना गरिएको हो । समाजमा शान्ति, सामाजिक समावेशिता, शिक्षा, सीप, र युवाहरूको सक्रिय सहभागिता बढाउने उद्देश्य सहित शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले समुदायमा सचेतना, सहभागिता र समावेशी विकासप्रति सकारात्मक सन्देश फैलाएको वडा अध्यक्ष शेर बहादुर महराले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक राजकुमार सिहंको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका सशस्त्र प्रहरी नायब उपरिक्षक, सशस्त्र प्रहरी बर्डर आउट पोस्ट जुगेडा इन्चार्ज, कालिका अस्थायी प्रहरी पोस्ट, कनेरी प्रहरी चेक पोस्टका इन्चार्ज लगायत सुरक्षाकर्मीहरुको सहभागिता थियो । उनिहरुले समाजमा हुने अपराधिक क्रियाकलाप सगैं चोरी, तस्करी रोक्न समाजको सक्रियता अपरिहार्य रहेको बताएका छन् ।
सोही अवशरमा ६ वटा विद्यालय र ६ वटा क्लबलाई खेलकुद सामग्री वितरण गरिएको थियो । यसका साथै आर्थिक रूपमा कमजोर बालबालिकालाई शैक्षिक सामग्री सोत वितरण गरिएको थियो । यसका साथै वडा कार्यालयको आर्थिक सहयोगमा कम्प्युटर डिप्लोमा तालिम लिएका २० जना र सिलाइ कटाइ तालिम लिएका ३० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । यि कार्यक्रमले बालबालिका, महिला तथा युवाहरूमा सकारात्मक सोच, आत्मनिर्भरता, र आत्मविश्वासको भावना विकास गर्न गहिरो प्रभाव पारेको वडा अध्यक्ष महरा बताउछन् ।