धनगढी: नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई बुझाएकी हुन्। सभामुखलाई आइतवार भेटेर विश्वासको मत फिर्ता लिएको पत्र बुझाएको उनले बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समय लिएको र आजै साँझ भेट्ने श्रेष्ठले बताएकी छन। प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि हुम्ला गएका छन्। त्यताबाट फर्किएपछि भेट्ने श्रेष्ठले बताएकी छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी सरकारबाट फिर्ता भइसकेका छन्। यता, सुदूरपश्चिम सरकारबाट पनि नागरिक उन्मुक्ति बाहिरिसकेको छ। संघमा एक राज्यमन्त्री लिएर सहभागी भएको उन्मुक्ति पार्टी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकार सामेल थियो। सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीको यो निर्णयसँग संघीय प्रदेशमा मात्रै नभएर संघीय सरकारले समेत विश्वासको मत लिनुपर्ने झमेला बेहोर्नु परेको छ।
संविधानको धारा १०० उपदफा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासका मतको लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने उल्लेख छ। संविधानको त्यस्तै व्यवस्था संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख छ।