काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणाले यतिखेर पार्टीमा तरङ्ग ल्याएको छ । भण्डारी आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिसहित अघि बढेको बुझाइसहित संस्थापन पक्षका नेता असन्तुष्ट सुनिन थालेका छन् । भण्डारीको सक्रियतासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताले दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको कुरा बहसमा ल्याएका छन् । नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका महासचिव शंकर पोखरेलले भ्रम र वास्तविकता भन्दै दुई वर्षे कार्यकाल र उमेर हद दुवै सर्वसम्मतरूपमा हटाइसकेको दाबी गरेका छन् ।
विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशनपश्चात् प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको उनको भनाइ छ । पोखरेलले भनेका छन्, ‘जबकि राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनबाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मतरूपमा पारित गरिएको थियो । त्यसमा केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रूपमा रहेको थियो ।’
सोही संशोधित विधानको व्यवस्था अनुरूप डा। पुष्प कँडेल तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको उनले उल्लेख गरेका छन् । ७० वर्षे उमेर हदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको पोखरेलको प्रष्टीकरण छ ।
महासचिवको यस्तो दाबी आएपछि भण्डारीनिकटका स्थायी कमिटी सदस्य कर्ण थापाले विधानबारे तर्करकुतर्क गरिएको भन्दै तथ्यमा उभिएर बहस गर्न भनेका छन् । उनले छापिएका तीन विधान विधान फेसबुकमा राख्दै लेखेका छन्, ‘विधान निर्माण र संशोधनको सर्वोच्च निकाय विधान महाधिवेशन नै हो । विधान राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावबाट निर्देशित हुन्छ भन्नेमा त कहीँ विवाद नै छैन ।’